काठमाडौं ।स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफ्नो स्वार्थ पुरा नभएपछि प्रधानमन्त्री र उनको परिवारकाे साथै सचिवालयका विरुद्धमा विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आरोप लगाउँदै आपति जनाएको छ । आइतबार प्रधानमन्त्री सचिवालयले एक विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाएको हो । सांसद सिंहले दिने गरेका अभिव्यक्तीलाई प्रधानमन्त्रीको सचिवालयले अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट भएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ । सचिवालयले सिंहको अभिव्यक्तीप्रति निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराएको छ ।
देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै सचिवालयले प्रधानमन्त्री प्रचण्ड कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । एनसेल खरिद विक्रि प्रकरणमा सरकारले छानविन समितिको अध्ययन र छानविनपछि प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने समेत जनाएको छ ।
सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णत ः झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको भएको सचिवालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको प्रधानमन्त्रीको सचिवायलले जनाएको छ ।
प्रधानमन्त्रीका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार रहेको भन्दै छानविन समितिले निर्धारित समयमा काम गर्ने समेत जनाइएको छ । सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन् प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ ।




