मुख्य समाचार

दसैँले राष्ट्रिय एकता सुदृढ बनाउनेछ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

बडा दसैँ २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

‘हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ । वर्षा ऋतुको कृषि कर्म सकिएपछि सुरम्य शरद ऋतुमा किसानले थकान मेटेर आराम र मनोरञ्जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको विशिष्ट महत्त्व छ । देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको उनले उल्लेख गरेकी छिन् ।

दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष हो, जसले हाम्रो प्रकृतिपूजक समुदायमा विद्यमान मातृशक्तिको प्रमुखतालाई अभिव्यक्त गर्दछ । दसैँले यसरी हाम्रो समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको छ । ग्रामीण कृषि समाज र सहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको उनले बताइन् । ‘कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन ।

तथापि देशविदेशमा छरिएका परिवारका सदस्य बीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने जस्ता मौलिक परम्पराले गर्दा बडा दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ । विदेशमा पनि नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको छ,’ उनले भनेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *