मुख्य समाचार

समस्यारहित नेपाल चीन सम्बन्ध अरू कसिलो हुने अपेक्षा

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकालमा पनि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । एकहप्ताव्यापी औपचारिक भ्रमणको मुख्य भेटघाट , छलफल, सहमति र सम्झौताको कामहरू सम्पन्न गरी अहिले उहाँको भ्रमण टोली चीनको विकासको अवलोकन गर्दैछ । 

यसैक्रममा नेपालको उत्तरी सीमासँग जोडिएको स्वायत्त शासित प्रदेश तिब्बतको समेत भ्रमण सम्पन्न गरेर औपचारिक भ्रमणको अन्त हुनेछ भन्ने कार्यक्रमले देखाउँछ । स्मरणीय छ, असोज ५ बाट सुरु भएको औपचारिक भ्रमण असोज १३मा भ्रमण टोली नेपाल फर्कनेछ । 

नेपाल र चीनको सम्बन्ध भनेको साँच्चै नै समस्यारहित मान्नुपर्छ । १४सय किलोमिटर भन्दा बढी सीमा जोडिएको दुई देशका बिचमा सीमा सम्बन्धी खासै समस्या छैन र यदि कुनै स्थानमा त्यस्तो केही विवाद छ नै भने पनि त्यसलाई तत्काल समाधान गर्ने भनेर सहमतिमा समेत भनिएको पाइन्छ । 

राजनीतिक सम्बन्धमा , अझ कूटनीतिक मामिलामा एकअर्कालाई गरिने व्यवहारमा प्रत्यक्ष तथा परोक्ष नियत हेरिन्छ , नेपाल र चीनका बारेमा ठोकेरै भन्न सकिन्छ, आपसमा सम्बन्ध साह्रै सफा छ, एकले अर्कालाई भरोसाको रुपमा हेरेको पाइन्छ ।

 यसका लागि सबैले भन्ने गरेको आधारभूत समय भनेको तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको सफल चीन भ्रमणलाई कोसेढुंगाको रुपमा लिइन्छ र चिनियाँहरूले पनि बारम्बार भन्ने गरेको त्यही हो जसले सगरमाथाको दक्षिणी शिखर नेपालको हो भनेर नेपाल र चीनले पारस्परिक रुपमा स्वीकार गरिएको थियो ।

  बिपीले प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसङ्घमा आफ्नो मन्तत्व दिँदा मुख्य भूमि चीनको प्रतिनिधित्व विना संयुक्त राष्ट्रसङ्घ अधुरो रहने र चीनको उपस्थिति आवश्यक रहेको बताएर कतिपय शक्ति राष्ट्रहरूलाई गरिब देशहरूको तर्फबाट चुनौती समेत दिनु भएको थियो ।

 र त्यही बेलादेखि नै नेपालले एक चीनको पक्षमा आफ्नो प्रतिबद्धता देखाएको थियो जबकि त्यो बेलामा चीनको नाममा भिटो शक्ति प्रयोग गर्ने ताइवान या फर्मोसा थियो । फर्मोसाको पक्षमा कोको थिए भन्नै परेन तर नेपालले ती शक्तिहरूको वास्तै नगरी मुख्य भूमि चीनको पक्षमा खुलेरै वकालत गरेको थियो । 

हामीले अहिले भएको प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई सफल र असफलको तराजुमा दाँज्न मिल्दैन किनभने असल मित्रहरू, असल छिमेकीहरूको सम्बन्धमा सफल असफल भन्ने भन्दा पनि तत्कालीन आवश्यकताका आधारमा सहमति, सम्झौता र आपसी छलफल हुन्छ । समस्यारहित सम्बन्धमा लेनदेन भन्दा पनि कसरी अरू सम्बन्ध बलियो र कसिलो बनाउने भन्नेमा बढी चासो रहन्छ ।

 त्यसमा चिनियाँ राष्ट्रपति तथा हालका चीनका सर्वोच्च नेता सि चिनफिङ् , प्रधानमन्त्री लि छियाङ्, स्थायी समितिका अध्यक्ष चाउ लिजीसँगको सौहार्दपूर्ण भेटघाट र प्रधानमन्त्रीहरुका समक्षमा भएका विभिन्न सम्झौता तथा सहमतिहरुले पनि भ्रमणमा नेपालप्रतिको चीनको सकारात्मक सम्बन्ध नै भेटिन्छ । तर पनि हाम्रा प्रधानमन्त्रीले सदनमा र पूर्व प्रधानमन्त्रीहरु तथा पूर्व परराष्ट्रमन्त्रीहरुलाई भने बमोजिम त्यस्तो सहमति र छलफल खुलारुपमा नभएको पाइएकोले समीक्षकहरुले भ्रमण औपचारिक भएकाले औपचारिकतामा नै सीमित भएको हो कि भन्ने शंका व्यक्त गरेको पाइन्छ । 

यसबिचमा नेपाल र चीनको सम्बन्धमा त्यस्तो कुनै व्यवधान देखिएको थिएन तर अमेरिकी मिलेनियम च्यालेन्जको कर्पोरेसनको सहयोगले चीनको दृष्टिमा केही फरकपन देखिएको थियो र संयुक्त विज्ञप्तिमा पनि एम सी सी को नाम नलिए पनि चीनको सुरक्षाका बारेमा अलि बढी नै संवेदनशील भएर बोलिएको छ र ताइबान —तिब्बतको मामिलालाई जोडेर एकचीनको प्रतिबद्धता फेरि पनि नेपालसँग मागिएको देखिन्छ । 

भएका सहमति र सम्झौतामा पर्ने कतिपय आयोजनाहरु बेल्ट एन्ड रोडसँग सम्बन्धित देखिन्छन् तर बेल्ट एन्ड रोडका बारेमा खासै बोलिएको छैन किनभने अमेरिकी सहयोग एम सी सीले एउटा कुरा के स्पष्ट पारेको छ भने नेपाल ऋण लिएर विकास गर्ने अवस्थामा छैन । चिनियाँ ऋणका कारणले टाट पल्टेको श्रीलंकाको हालतले पनि त्यही देखाएकोले बी आर आइ परियोजनाहरु यदि चीनले सहयोगमा गरेमा या अत्यन्त थोरै व्याजमा ऋण उपलब्ध गराएमा मात्र ती संभावित योजनाहरु लागू हुनेछन् भन्ने मनोविज्ञान नेपालमा छ ।

 त्यसैले सायद सम्माननीय प्रधानमन्त्री दाहालले महामहिम राष्ट्रपति सिलाई गोप्य वार्तामा भनेर नै होला, त्यसका बारेमा पछिमात्र विस्तृत योजना बन्ने देखिएको छ । नेपालको बी आर आइ मा आफ्नो प्रवेश सुनिश्चित गरिसकेकाले अब त्यहाँ जाने कि नजाने भन्ने प्रश्न उठ्दैन तर ऋणभन्दा सहयोगमा मात्र जोड दिने रणनीतिले दुई देशमा गम्भीर छलफलको आवश्यकता भने पक्कै पर्नेछ । 

दुईओटा असल छिमेकीहरुका बिचमा औपचारिक या राजकीय भ्रमणले मात्र सम्बन्धको असलपनको रेखांकन हुँदैन । निरन्तर सम्पर्क र छलफलले झन सम्बन्ध ताजा गराउँछ । नेपाल र चीनका बिचमा सरकारी र दलीय दुवै प्रकारका सम्बन्धसँग जनस्तरमा समेत सम्बन्ध विस्तार भइरहेको पाइन्छ । झन २०२५लाई चीनले नेपालको पर्यटन विकासका लागि पर्यटन वर्ष मनाउने निधो गरेर हामीसँगको सम्बन्धलाई महत्व दिएको छ । 

चीन पुग्दानपुग्दै महामहिम राष्ट्रपति सिले नेपाली प्रतिनिधि मण्डलसँग औपचारिकरुपमा वार्ता गर्नु र दिवा भोजको आयोजना गर्नुलाई सकारात्मक सम्बन्धको द्योतक मानिन्छ र चीनले दिएको सम्मानले पनि नेपालप्रतिको सकारात्मक भावनाको प्रतीक मान्नुपर्छ । झन महामहिम सिले त नेपालको विकासका लागि चीन सधैँ तत्पर रहेको भनाइले हामी खुसी हुनैपर्छ । 
यो भ्रमणले पक्कै समस्यारहित हाम्रो सम्बन्ध अझ प्रगाढ भएको अनुभूत गर्न सकिन्छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *