काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। बिहिबारदेखी सोमबारसम्म बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले महासमिति बैठकको लागि तयारी समिति गठन गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।
महामन्त्री गगन थापाले महासमिति बैठकका लागि आवश्यकताअनुसार समिति थप घट गर्न मिल्ने अधिकार सभापतिलाई भएको बताए । महामन्त्री थापाका अनुुसार नेपाली कांग्रेसले यही मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । शुक्रबार बसेको कांग्रेस बैठकले विद्यालय शिक्षा विधेयकका वारेमा शिक्षा विधेयकमा संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो ।
साउन पहिलो साता बसेको बैठकले सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएकोबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संविधान कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा अविलम्ब गर्ने कांग्रेस बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेसले प्रदेशहरुमा मन्त्रालय नबढाउन निर्देशन गर्ने निर्णय समेत गरेको छ ।




