काठमाडौं । कुनै समय एकअर्काविरुद्ध ‘नाटकै हो र नौटंकी नै हो’जस्ता घोचपेच गर्ने माओवादी अध्यक्ष र नेकपा एमालेका अध्यक्षबिच सरकार निर्माण भएपछि दिनहुँजसो भेटवार्ता शुरु भएका छन् ।
कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री प्रचण्ड लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि पुगेका छन् । त्यसपछि एमाले अध्यक्ष ओली प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगे । बालकोटमा सुन्तला खाएर गफिएका ओली प्रचण्डलाई खुमलटारमा पनि सुन्तलासहित स्वागत गरेका थिए ।
दुई नेताका बिचमा सत्ताको भागबण्डाको विषयमा निरन्तर छलफल भइरहेको छ । मंगलबार पनि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि वालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद विस्तार, सरकारको न्युनतम साझा कार्यक्रम जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार र सत्ताको भागवण्डाबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।




