काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगम खारेज गर्ने सरकारको सोंच नभएको स्पष्ट पारेका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले आयल निगमलाई खारेज गर्ने सोंच नभएको बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपाल भारत प्रवृद्ध समुहले तयार गरेको प्रतिवेदन बुझ्ने वातावरण बनाउन क्रियाशील रहेको जवाफ दिएका छन् ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल रुपमा भएपनि प्रतिवेदन बुझ्न आग्रह गरेका थिए । नेपाल र भारतबीच सिमा समस्या लगाएतका विषयमा देखिएका समस्या समाधानका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहले ३ वर्षअघि नै प्रतिवेदन तयार पारेको थियो ।
प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने प्रावधान राखिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेका कारण उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।
प्रधानमन्त्री देउवाले जनमतको कदर गर्न समेत एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । स्थानीय तहको चुनावका बारेमा एमाले अध्यक्ष ओलीले गरेको टिप्पणीको जवाफ दिदै प्रधानमन्त्री देउावले जनमतको कदर गर्नुको विकल्प नरहेको भनेका हुन् ।




