भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जीवन खत्रीले आफुले निर्वाचन जिते चागुनारायणमा नगरबस चलाउनदेखि चाँगुनारायण नगरपालिकालाई विश्वसामु चिनाउने बताएका छन् ।
यसअघि भएको प्रदेशसभा सदस्यको चुनावमा समेत उम्मेदवार बनेका तर तत्कालिन नेकपाको गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका खत्री अहिले मेयरको उम्मेदवार बनेका हुन् ।

मेयरमा निर्वाचित भए चाँगुनारायण नगरपालिकालाई विश्वसामु चिनाउन खाका तयार गरिसकेको खत्रीको भनाई छ । चुनावमा उम्मेदवार बनेका खत्रीले प्राथमिकतामा नगरलाई पर्यटकीय गन्तव्य बनाउने, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने, कृषिलाई व्यवसायीक बनाएर नगदेबाली लगाउन प्रेरित गर्नेजस्ता विषय खत्रीले अघि सारेका छन् ।

खानेपानी, सडक र खानीलाई व्यवस्थित बनाएर बढ्दो सहरीकरणलाई रोकेर व्यवस्थित सहर निर्माणमा जोड दिने खत्रीको एजेण्डा छ । त्यसबाहेक जनतालाई सुशासनको प्रत्याभूति दिलाउन कुनै पनि पार्टीको कार्यकर्ता भएको आधारले भेदभाव नगर्ने बताएका खत्री उनकै एजेण्डाका कारण चाँगुनारायण नगरपालिकामा निकै लोकप्रिय युवा नेताको छाप छाड्न सफल समेत भएको स्थानीय बताउँछन् ।

को हुन् खत्री ?
विकासप्रेमी नेता, कुशलता संगठकको छाप छाडेका खत्री भक्तपुर क्याम्पसमा स्ववियु सदस्य राजनीति शुरु गरेका थिए । स्ववियु सदस्य बनेर एकैपटक स्ववियू सभापति जित्ने जीवन खत्री कांग्रेसको १२औं महाधिवेशनमा क्षेत्रीय सचिवमा विजयी भएका थिए ।
२०५२ सालबाट भक्तपुर क्याम्पसमा नेविसंघको राजनीति सुरु गरेका खत्रीले २०५५ सालमा भएको स्ववियु चुनावमा सदस्य पदमा जितेका थिए। २०५७ सालमा पनि सभापति जिते। संगठनमा सधैं चुनाव जितेका खत्री प्रदेश सभा सदस्यमा भने पराजय भोगे । सधैं जीत मात्र हात पार्दै आएका खत्री एकाएक पराजयपछि पनि हतोत्साही भएनन् । संगठन सुदृढीकरणमा लागिरहे । चुनाबमा कसैले घात गरेको भनेर कसैलाई पनि आरोप लगाएनन् । आफ्नै अध्ययनको कमी र दौडधूप नपुगेको स्वीकार्दै अघि बढे।
उनलाई निर्वाचनमा पराजित गर्ने एमाले उम्मेदवारको निधनले प्रदेश सभा सदस्यको पद खाली रह्यो। सरकारले उपचुनाव गरायो । आफ्नै अधिकार रहे पनि उनले उम्मेदबारी दाबी गरेनन्। आफ्नो पार्टीको उम्मेदवार कृष्ण भँडेललाई दिलोज्यान दिएर चुनाव जिताएरै छाडे । खत्री कुशल संगठनकर्ता मात्र नभई त्यागी नेता पनि भएको कार्यकर्ताहरू बताउँछन् । यातायात संघको जिल्ला अध्यक्षसमेत भएका खत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
कांग्रेस परिवारमा जन्मिएका खत्री १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति समेत बनेका थिए । नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति सुरु गरेर स्ववियु सदस्य, स्ववियु सभापति, जिल्ला सभापति हुँदै अहिले केन्द्रीय सदस्यसम्म बनेका छन् ।
पार्टी राजनीतिमा क्षेत्रीय सचिव हुँदै खत्री तेह्रौं महाधिवेशनमा भक्तपुर क्षेत्र नम्बर १ को सभापति र दोस्रो कार्यकाल चौधौं महाधिवेशनमा पनि भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति छन् । देश संघीयतामा गइसकेपछि भएको पहिलो निर्वाचनमा उनी भक्तपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।




