काठमाडौ । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
एमाले कर्णाली प्रदेश कमिटीको सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।
एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् ।
महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ ।




