काठमाडौं । यसअघि भएको तिनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बिचमा छलफल भएको छ ।
गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानूनमन्त्री दिलेन्द्रप्रसाद वडु र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
छलफलका क्रममा विभिन्न घटनामा पक्राउ परेका विप्लवका नेता कार्यकर्ताको रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउने सहमति भएको जनाइएको छ ।
महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र बन्दीलाई रिहाइ गर्ने विषयमा दुई पक्षबीच सकारात्मक रुपमा छलफल भएको बताए ।
छलफलमा कानूनसम्मत रुपमा फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदी बन्दीलाई रिहाइ गर्ने विषयमा सकारात्मक रूपको छलफल भएको जनाइएको छ ।




