राजनीति

नेपालको नक्सा प्रकाशनपछि प्रधानमन्त्रीबाट हटाउन खोजियो– एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक भएपछि आफ्नो नेतृत्वको सरकार ढाल्ने योजना बनेको आरोप लगाएका छन् ।

जारी केन्द्रीय कमिटिमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा तत्कालिन समयमा आफुविरुद्ध मोर्चाबन्दी भएको र नक्सा प्रकरणपछि षड्यन्त्र तिव्र बनेको आरोप लगाएका हुन् ।

उनले पेश गरेको प्रतिवेदनमा भनिएको छ,‘ ‘प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी सुरु भयो । प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाए । कोर अफ दि लिडर भनिने केन्द्रीय सचिवालय कुण्ठा, किचलो र अन्त्यहीन गुटबन्दीको थलो बन्यो । पार्टीमा बहुकेन्द्र खडा भए ।’

नेपालको नक्सा समावेश गर्नका लागि संविधान संसोधन प्रस्ताव संसदबाट सर्वसम्मत रुपमा पारित भएपछि आफुलाई हटाउन तिव्र चलखल भएको अध्यक्ष ओलीको आरोप छ । उनले भनेका छन्,‘०७६ फागुनदेखि प्रधानमन्त्री हटाउने दृष्य–अदृष्य प्रयास सुरु भए । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा प्रकाशन गरिएपछि र संसदबाट सर्वसम्मतिका साथ संविधान संशोधनन गरिएपछि यो षड्यन्त्र तीव्र भयो ।’

अध्यक्ष ओलीले नाम उल्लेख नगरिकन माधवकुमार नेपाल समुहका नेताहरुले तत्कालिन समयको नेकपामा प्र्रचण्डको दाउपेचमा सहयोगी बनेर प्रस्तुत भएको आरोप समेत लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *