काठमार्डौ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई महाधिवेशनको चटारो छ । १४ औं महाधिवेशनको प्रकृयामा प्रवेश गरेसँगै कार्यकर्ताका लागि पार्टी नेतृत्व तहमा पुग्ने बाटो खुलेको छ । यो प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउने होड पनि सँगसँगै चलेको छ । नेताहरुको कार्यशैली, पार्टीप्रतिको योगदान आदिका अधारमा नेतृत्व छनोट गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुले आतुरता देखाएका छन ।
नेपाली कांग्रेस मासबेस पार्टी हो । पार्टीमा नेता कार्यकर्ता प्रशस्त छन् । जो राजनीतिक मैदानमा अब्बलरुपमा प्रस्तुत हुन्छ, उसैले नेतृत्वको जिम्मेवारी पाउँछ । यो लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष पनि हो ।
कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएसँगै पार्टीका नेता कार्यकर्ता निकै बेफुर्सदिला देखिन्छन् । लामो समयदेखि कांग्रेस राजनीतिमा पदीय जिम्मेवारीसहित सक्रिय भूमिका खेल्दै आएका संखुवासभाका युवा नेता कुमारबाबु अधिकारी संखुवासभा कांग्रेसको सबै तहको अधिवेशन एकता, आपसी सहमाति, सहकार्यमै सम्पन्न हुनेमा आशावादी देखिन्छन ।
नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाट पार्टी राजनीतिमा जमेका अधिकारी जिल्लामा प्रभाविला युवा नेताका रुपमा परिचित छन् । जिल्लामै बसेर जनताको सुख दुःखका सारथी बनेका कारण पनि उनी आशा र सम्भावनाका धरोहर बनेका हुन् । पार्टी संगठन र जनताको कामप्रतिको लगाव, स्पष्ट वक्ता र समन्वकारी छवी उनको परिचय हो । यसैले उनलाई राजनीतिक उचाइमा पुग्न बल पु-याउँदै आएको छ ।
संखुवासभाबाट उच्च शिक्षा अध्ययनका धरान झरेका अधिकारीले अध्ययनसँगै राजनीतिलाई पनि एकसाथ अघि बढाए । महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ क्याम्पस इकाई समिति धरानको सभापति बने । त्यसपछि थप अध्ययनका लागि उनी राजधानी काठमाडौं आए । काठमाडौंमा उनी नेपाल कर्मस क्याम्पसमा भर्ना भए ।
त्यसबेला नेपाल कमर्स क्याम्पसमा अखिलको हालिमुहाली थियो । उक्त क्याम्पसको स्ववियु निर्वाचनमा उनले नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको टिकट पाए । नेविसंघको प्यानलै पराजित भए पनि अखिलको हालिमुहालीमा धमिरा लाग्ने काम त्यसबेलादेखि नै सुरु भएको हो ।
नेविसंघको सक्रिय राजनीतिपछि अधिकारीले नेपाल तरुण दल संखुवासभाको नेतृत्व गर्ने अवसर पाए । उनी अध्यक्ष भएपछि संखुवासभाको तरुण दल थप चलायमान बनाए । उनको कामको मुल्यांकन गरेर तरुण दल पूर्वाञ्चलको सहसंयोजको जिम्मेवारी दिइयो । पदीय जिम्मेवारी पाउदा कुशल भूमिका निर्वाह गरेका अधिकारीले नेविसंघ तरुण दलको राजनीतिसँगै पार्टी राजनीतिमा पनि महत्वपूर्ण जिम्मेवारी पाए । अधिकारीले नेपाली कांग्रेस संखुवासभा जिल्लाको सहसचिव हुँदै उपसभापतिको जिम्मेवारी निर्वाह गरे ।
जिल्ला उपसभापति जिम्मेवारी पाएपछि अधिकारी केही समय कार्यवाहाक सभापतिसमेत भएर जिल्ला हाँके । त्यसबखत संखुवासभाको दुवै क्षेत्रमा कांग्रेसले संसदीय निर्वाचन जित्यो । अहिले अधिकारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र श्रमिक तथा ट्रेड युनियन विभागको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । अधिकारी नेपाली कांग्रेसका प्रभावशाली नेता स्व. गोपालराज पहाडीको निकटमा रहेर पार्टी संगठन गरेका व्यक्ति हुन ।
जिल्लामा नेतृत्व तहको रस्साकसी चलिरहेका बेला अधिकारीले कुन पदमा दाबी गर्लान् ? उनले आफूलाई यो पद चाहियो भनेर मुख नखोलेका कारण कार्यकर्ता र शुभचिन्तकलाई कौतुहलको विषय बनेको छ । आफ्नो योग्यता र क्षमताअनुसारको नयाँ जिम्मेवारी खोजिरहेका अधिकारी जिल्लाका नेता कार्याकर्ताहरु सँगको छलफलपछि आफ्नो उम्मेद्वारी तय गर्ने बताउँछन । कांग्रेसलाई सशक्त, चलायमान र एकढिक्का बनाउन सबै तहका नेतृत्वका आकांक्षीहरुलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उनको मत छ ।




