देश

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने– यो अन्त्य होइन, नयाँ सुरुवात हो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीमा पराजित उम्मेदवार गुरुराज घिमिरेले आफूलाई विश्वास गरी मत प्रदान गर्ने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

महामन्त्री पदमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले आफूलाई प्राप्त मत सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राका लागि ठूलो प्रेरणा भएको बताएका छन्।

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।

लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै घिमिरेले निर्वाचन परिणामबाट विचलित नभई नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढाउनुपर्नेमा जोड दिँदै उनले निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई प्रमुख आधार बनाउने बताएका छन्।

‘यो अन्त्य होइन, नयाँ सुरुवात हो,’ घिमिरेले भनेका छन्। उनले नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। घिमिरेले आफूलाई माया, विश्वास र साथ दिने सबैप्रति पुनः धन्यवाद व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *