देश

भ्रष्टाचार नियन्त्रणमा सरकारको कडाइ, सबै जिल्लामा अनुगमन गरिने

काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे सबै जिल्लामा अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि कार्यान्वयनको अवस्थाबारे दोलखा र रामेछापमा अनुगमन सम्पन्न गरिएको जानकारी दिए ।

उनका अनुसार महासन्धिका प्रावधान कार्यान्वयनको अवस्था बुझ्न क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिनेछ । सरकारले धनकुटा, सुनसरी र मोरङका कारागार तथा केही हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे समेत अनुगमन गरेको उनले बताए ।

कैदीबन्दी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ । अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी कामको अनुगमन तथा निरीक्षण गर्न एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको उनले बताए ।

मन्त्रालयहरूलाई सरसफाइसम्बन्धी गतिविधिको नियमित अनुगमन गरी त्यसको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।

प्रवक्ता अर्यालका अनुसार सरसफाइ सप्ताहका क्रममा भएका गतिविधिको अनुगमनसमेत भइरहेको छ । मन्त्रालयभित्र र परिसरमा सरसफाइको अवस्था नियमित रूपमा निरीक्षण गरी त्यससम्बन्धी विवरण प्रधानमन्त्री कार्यालयमा पेस गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

त्यस्तै, नागरिकका गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारले आवश्यक काम गरिरहेको पनि अर्यालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *