काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले चीनले आर्थिक तथा प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने सम्भावनाबारे चर्चा गरेका छन् । चीन भ्रमणमा रहेका पराजुलीले त्यहाँस्थित नेपाली दूतावास पुगेर कार्यवाहक राजदूत रोशन खनालसहित दूतावासका कर्मचारीहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।
द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पराजुली चीन पुगेका हुन् । दूतावासमा भएको भेटका क्रममा उनले चीनले हासिल गरेको आर्थिक उपलब्धि र प्रविधिको क्षेत्रमा गरेको तीव्र विकासबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषय उठाएका थिए । त्यसैगरी, नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन कूटनीतिक नियोगले खेल्नुपर्ने भूमिकाबारे पनि उनले धारणा राखेका थिए ।
चिनियाँ संस्थाको आयोजनामा हुने कार्यक्रममा ग्लोबल साउथ तथा युरोपेली मुलुकका सांसदहरू सहभागी हुने बताइएको छ । उक्त कार्यक्रममा सांसद पराजुलीले नेपालमा हालै आएको भोटेकोशी बाढी र जलवायु परिवर्तनका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा विभिन्न देशका प्रतिनिधिसँग उच्चस्तरीय साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ ।




