विश्व

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ ।बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो ।

‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो। युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिनुभयो । जहाजका चालक दलका सदस्यहरूका अनुसार तीनवटा हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए ।

जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका सबैलाई भर्ना बन्दरगाहमा पु¥याइएको थियो । उनीहरूमध्ये पाँच जनाले स्वास्थ्य उपचारसमेत प्राप्त गरेका छन् ।यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको जानकारी अधिकारीहरूले प्राप्त गरेका थिए । उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।

बुल्गेरियाको तट नजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा, बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा, अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो ।

प्रधानमन्त्री रादेवले बुल्गेरियाको प्रादेशिक जलक्षेत्रको नजिकै व्यापारिक जहाजमाथि बारम्बार आक्रमण हुनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनुभयो ।

उहाँका अनुसार घटनाबारे उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघ (ईयू) का लागि बुल्गेरियाका स्थायी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ । साथै, उहाँले नाटोका महासचिव मार्क रुटेसँग पनि यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *