देश

राति ११ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं । धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएपछि पृथ्वी राजमार्गमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि थप मर्मतसम्भारका लागि राजमार्ग बन्द गर्न लागिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतका लागि उक्त निर्णय गरिएको जानकारी दिएकी छन्। गत असोज २३ गते सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि यातायात सञ्चालनमा ल्याइए पनि सडकको अवस्था सुधार गर्न थप मर्मत आवश्यक परेपछि पुनः रातिको समयमा आवागमन रोक्न लागिएको हो।

चाडपर्वका लागि ठूलो सङ्ख्यामा यात्रु राजधानीबाट बाहिरिने समयमा राजमार्ग बन्द गरिँदा यातायात व्यवस्थापनमा थप चुनौती देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा यातायात व्यवसायी र यात्रु दुवैलाई समस्या पर्ने बताएका छन्।

उनका अनुसार हजारौँ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ गरिसकेका छन्। यस्तो अवस्थामा सडक बन्द हुँदा यात्राको समयतालिका प्रभावित हुने र यात्रुले असुविधा भोग्नुपर्ने अवस्था आउन सक्छ। उपलब्ध विवरणअनुसार दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौंको नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ जना यात्रु बाहिरिएका थिए। राजमार्ग मर्मत सडकको सुरक्षा र दीर्घकालीन सञ्चालनका लागि आवश्यक भए पनि चाडपर्वको यात्रु चापलाई ध्यानमा राख्दै यातायात व्यवस्थापन र यात्रुलाई समयमै सूचना दिने विषय उत्तिकै महत्त्वपूर्ण देखिएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *