देश

हिमालयन – रि प्रकरणमा २० जनाविरुद्ध मुद्दा, २३ करोडभन्दा बढी बिगो दाबी

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, सम्पत्ति शुद्धीकरण (निवारण) ऐन र बीमा ऐनअनुसार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो असुल गर्नुपर्ने दाबी गरिएको छ । साथै बिगो बराबरको जरिवाना, कैद तथा कसुरबाट आर्जित सम्पत्ति जफत गर्न माग गरिएको छ ।

अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सबाट ‘प्राविधिक तथा लजिस्टिक सपोर्ट’ शीर्षकमा एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई २८ करोड रुपैयाँ पेस्की भुक्तानी गरिएको र त्यसको ठूलो हिस्सा फर्जी कागजातमार्फत फर्छ्यौट देखाइएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।
सरकारी पक्षका अनुसार २८ करोड रुपैयाँमध्ये ४ करोड रुपैयाँ फिर्ता भएको देखाइएको थियो भने बाँकी रकममध्ये २३ करोड ९२ लाख रुपैयाँभन्दा बढीलाई नक्कली खर्चका रूपमा समायोजन गरिएको थियो ।

हिमालयन रिले नेपालका २० वटा जीवन बीमा कम्पनीको पुनर्बीमा व्यवसाय एलियन्ट इन्स्योरेन्स ब्रोकर्समार्फत आएको भन्दै रकमलाई ‘ब्रोकर कमिसन खर्च’ का रूपमा देखाएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा जनाइएको छ ।

तर नेपाल लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, आईएमई लाइफलगायतका २० वटै जीवन बीमा कम्पनीका प्रमुखहरूले अनुसन्धानका क्रममा आफूहरूले कुनै ब्रोकर प्रयोग नगरेको र एलियन्टसँग कुनै सम्झौता नभएको लिखित बयान दिएको सरकारी पक्षको दाबी छ ।
यसका आधारमा एलियन्टमार्फत भएको भनिएको ब्रोकर कारोबार वास्तविक नभई रकम अपचलन गर्ने प्रयोजनका लागि सिर्जना गरिएको फर्जी कारोबार भएको निष्कर्ष अनुसन्धानबाट निकालिएको छ ।

अभियोगपत्रमा व्यवसायी दीपक भट्टले आफ्नी सासू अन्जना नेपालको नाममा एलियन्ट इन्स्योरेन्स ब्रोकर्स स्थापना गरी हिमालयन रिको रकम अन्यत्र सार्ने योजना बनाएको उल्लेख छ । भट्टको एकल स्वामित्व रहेको ‘इन्फिनिटी होल्डिङ्स’ हिमालयन रि–इन्स्योरेन्सको प्रमुख सेयरधनी रहेको र सोही प्रभावका आधारमा कम्पनीको रकम एलियन्टमार्फत परिचालन गरिएको सरकारी पक्षको आरोप छ । कम्पनीलाई हानि–नोक्सानी पुर्‍याएको कसुरमा भट्टविरुद्ध २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी रकम असुल तथा जफत र कैद सजायको माग गरिएको छ ।

त्यसैगरी, अपराधबाट व्यक्तिगत लाभका रूपमा प्राप्त रकमलाई विभिन्न कारोबार र सेयर लगानीमा प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा २१ करोड १५ लाख रुपैयाँ छुट्टै बिगो कायम गरिएको छ । हिमालयन रिका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालक समितिका सदस्यहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयललाई फर्जी कारोबार बोर्डबाट अनुमोदन गरी रकम अपचलनमा सहयोग गरेको आरोप लगाइएको छ ।

उनीहरूले वास्तविक कारोबार नभएको ब्रोकर खर्चलाई कम्पनीको वित्तीय विवरणमा समावेश गर्न स्वीकृति दिएको सरकारी पक्षको दाबी छ । त्यसका आधारमा उनीहरूविरुद्ध पनि २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ । वित्तीय संस्थाका जिम्मेवार पदाधिकारीका रूपमा काम गरेको भन्दै उनीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार थप सजाय हुनुपर्ने मागसमेत अभियोगपत्रमा गरिएको छ ।

कम्पनीका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, तत्कालीन सीईओ उपासना पौडेल र कार्यकारी निर्देशक मनिष कुमारमाथि एलियन्टलाई पर्याप्त आधार र वास्तविक कामबिना २८ करोड रुपैयाँ पेस्की उपलब्ध गराएको आरोप छ । उक्त रकममध्ये २३ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम फर्जी खर्च देखाएर हिसाब मिलान गरेको भन्दै उनीहरूविरुद्ध बीमा ऐन र सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत कारबाहीको माग गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि भने नियामक निकायको प्रमुखको हैसियतमा कानुनविपरीत एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई ब्रोकरको इजाजत दिलाएको आरोप लगाइएको छ । पुनर्बिमा दलाल निर्देशिका, २०७८ को व्यवस्थाविपरीत एलियन्टलाई इजाजत दिई आर्थिक अपराधमा सहयोग पुर्‍याएको दाबी गर्दै सिलवालविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । अनुसन्धानले हिमालयन रिको रकमलाई विभिन्न चरण हुँदै वित्तीय प्रणालीमा वैध देखाउने प्रयास भएको निष्कर्ष निकालेको अभियोगपत्रमा उल्लेख छ । पहिलो चरणमा हिमालयन रिबाट एलियन्टको खातामा २८ करोड रुपैयाँ पेस्की पठाइएको, त्यसपछि २३ करोड ९२ लाख रुपैयाँभन्दा बढीलाई फर्जी खर्चका रूपमा देखाएर समायोजन गरिएको सरकारी पक्षको दाबी छ ।

त्यसपछि एलियन्टले रकमलाई आफ्नो वैध आम्दानीका रूपमा देखाएर कर तिरेको र अन्जना नेपाललाई लाभांशका रूपमा रकम वितरण गरेको अनुसन्धानमा खुलेको जनाइएको छ । अन्जना नेपालको महालक्ष्मी विकास बैंकको खाताबाट भट्टकी पत्नी आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंक खातामा २१ करोड १५ लाख रुपैयाँ पठाइएको र त्यहाँबाट रकम दीपक भट्टको व्यक्तिगत खातामा पुगेको अभियोगपत्रमा उल्लेख छ ।

अन्ततः भट्टले उक्त रकम बैंकिङ ऋण तथा अन्य दायित्व भुक्तानीका लागि शंकरलाल अग्रवाल, साहिल अग्रवाल र जगदम्बा स्टिललगायतका खातामा पठाएको र यसरी अपराधबाट प्राप्त रकमलाई वित्तीय प्रणालीमा मिसाएर वैध स्वरूप दिने प्रयास गरेको सरकारी पक्षको दाबी छ ।
मुद्दा अदालतमा दायर भएसँगै अब प्रतिवादीमाथिका आरोप, बिगो र सजायसम्बन्धी मागदाबीबारे न्यायिक प्रक्रिया अघि बढ्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *