काठमाडौं । प्रहरी सहायक निरीक्षकको आधारभूत तालिम पूरा गरेपछि उपेन्द्र बाँनियाँको अनुहारमा खुसी देखिन्थ्यो। लामो समयको कठिन अभ्यास, अनुशासन र चुनौतीपूर्ण प्रशिक्षण पार गर्दै दीक्षित बनेपछि उनले आफूले छुट्टै किसिमको खुसी महसुस गरेको बताए। प्रहरी सहायक निरीक्षकमा नियुक्तिपछि आफूले पहिलोपटक लिएको कार्यक्षेत्रसँग सम्बन्धित आधारभूत तालिम निकै चुनौतीपूर्ण रहेको बाँनियाँको अनुभव छ। तालिम अवधिमा कठिन परिस्थितिको सामना गर्नुपरे पनि मनोबल बलियो बनाएर अघि बढेको उनले बताए।
‘प्रहरी सहायक निरीक्षकमा नियुक्ति भएपछि यो मेरो पहिलो कार्यक्षेत्रको तालिम थियो। तालिमका क्रममा निकै कठिन परिस्थितिहरू आए, तर मनोबल बलियो बनाएर अघि बढेँ,’ बाँनियाँले भने, ‘अब यो तालिम पूरा गरेपछि जुनसुकै कठिन परिस्थितिमा पनि नागरिकको हक, अधिकार र सुरक्षाका लागि काम गर्न तयार र सक्षम भएको महसुस गरेको छु।’ पहिलोपटकको आधारभूत प्रशिक्षण तालिम अवधिमा साथ, सहयोग र हौसला दिने सबैप्रति उनले आभार व्यक्त गरे।
बाँनियाँसँगै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१८०औँ समूहका ३१० जना प्रशिक्षार्थी दीक्षित भएका छन्। चितवनमा सञ्चालन भएको उक्त तालिमको दीक्षान्त समारोह असोज २१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। २०८२ भदौ २२ गतेदेखि सञ्चालन भएको तालिममा ४३ महिला र २६७ पुरुष गरी ३१० जना प्रशिक्षार्थी सहभागी थिए।
दीक्षान्त समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक लोकबहादुर जिसीले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि अधिकारीले उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकलाई पुरस्कार, प्रमाणपत्र, नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरे। तालिममा प्रहरी सहायक निरीक्षक कमल घर्ती मगर सर्वप्रथम भएका छन्। विकास थापा द्वितीय र अनु तामाङ तृतीय भएका छन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रशिक्षार्थीलाई समेत समारोहमा सम्मान गरिएको थियो।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिमको स्मारिका पुस्तकसमेत विमोचन गरे। उनले शारीरिक र मानसिक रूपमा कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीलाई बधाई दिँदै प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरे।
प्रहरी सेवामा रहँदा लोभ, भय र त्रासबाट मुक्त भएर अन्यायमा परेका पीडित तथा संकटमा परेका नागरिकको सेवा गर्नुपर्नेमा अधिकारीले जोड दिए। राष्ट्रसेवामा व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ प्रस्तुत हुन उनले दीक्षित प्रहरी सहायक निरीक्षकलाई निर्देशन दिए।
यसैगरी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले प्रमुख अतिथिलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरिन्। उनले तालिमबाट हासिल गरेको ज्ञान, सीप र क्षमता कार्यक्षेत्रमा सदुपयोग गर्न दीक्षित प्रहरी सहायक निरीक्षकलाई आग्रह गर्दै शुभकामना दिइन्।
दीक्षान्त समारोहका क्रममा प्रशिक्षार्थीका अभिभावक तथा परिवारजनले उनीहरूलाई दर्ज्यानी चिह्न सुशोभित गरेका थिए। लामो प्रशिक्षणपछि अब ३१० जना प्रहरी सहायक निरीक्षक कार्यक्षेत्रमा खटिने तयारीमा छन्। उनीहरूका लागि चितवनको प्रशिक्षण अवधि प्रहरी सेवाको सुरुवाती यात्रामा सिकाइ, चुनौती र आत्मविश्वास जोडिएको महत्वपूर्ण अनुभव बनेको छ।














