देश

लुटपाटको गिरोह चलाउँदै प्रहरीका हतियारसमेत हात पार्ने योजनामा ‘आयन माझी समूह’

काठमाडौं । काठमाडौं उपत्यकामा शृङ्खलाबद्ध लुटपाट र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ‘आयन माझी समूह’ का तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका-५ का २४ वर्षीय आयन माझीसहित मकवानपुर बकैया–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ छन्।

प्रहरीका अनुसार असोज २१ गते जडीबुटी पुलमुनि माझीलाई पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरेर भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुका साथै घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

माझीको बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा प्रहरीले ठिमी क्षेत्रबाट मोक्तान र थिङलाई पक्राउ गरेको हो। लुटपाटका क्रममा मोक्तानले मोटरसाइकल चलाउने र थिङले पछाडि बसेर सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार माझीविरुद्ध काठमाडौं, भक्तपुर र काभ्रेमा डाँका तथा चोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता छन्। यसअघि पनि उनी डाँका चोरी मुद्दामा पक्राउ परी कैद भुक्तान गरिसकेका व्यक्ति हुन्। पछिल्लो समय उनी पुनः लुटपाटमा सक्रिय भएको प्रहरीको दाबी छ।

अनुसन्धानअनुसार समूहले विशेषगरी बिहान तथा रातिको समयमा सर्वसाधारणलाई निशाना बनाउने गरेको थियो। मर्निङ वाकमा निस्किएका व्यक्ति तथा तरकारी किन्न जाने सर्वसाधारणलाई ठेगाना सोध्ने बहाना बनाएर सिक्री लुट्ने र भाग्ने क्रममा पटक–पटक सवारीसाधन परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ। त्यस्तै, ‘इनड्राइभ’ वा ‘पठाओ’ चालकको बहाना बनाएर यात्रुलाई सुनसान स्थानमा पुर्‍याउने र हतियार देखाएर लुटपाट गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार माझीले यसअघि नै सिक्री लुट्ने, मोटरसाइकल चोरी गर्ने तथा डलर देखाएर ठगी गर्ने समूहसँग सम्पर्क बढाउँदै आफ्नो छुट्टै गिरोह बनाएका थिए। यही क्रममा समूहले लुटपाटका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको खुलेको छ। बालकुमारी पुलमुनिबाट हालै चोरी भएको पल्सर २२० मोटरसाइकलसमेत यही समूहले लुटपाटमा प्रयोग गरेको प्रहरीको भनाइ छ।

अनुसन्धानमा प्रहरीले अर्को गम्भीर तथ्यसमेत फेला पारेको जनाएको छ। समूहले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका एटीएम बुथमा भएको लुटपाटमा समेत माझीको संलग्नता देखिएको छ। कारागारबाट छुटेपछि उनी पुनः पुरानै आपराधिक गतिविधिमा फर्किएको प्रहरीको भनाइ छ।

यस समूहले असोज १४ गते राति बौद्धमा तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई गेट नम्बर २ नजिकै रोकी दुई लाख रुपैयाँ नगदसहित कागजात लुटेको आरोप छ। त्यस्तै, असोज १३ गते राति डल्लु चौतारामा कारभित्र रहेका रमेश खड्काको घाँटीबाट करिब साढे १० लाख रुपैयाँ मूल्य बराबरको साढे तीन तोलाको सुनको सिक्री लुटिएको घटनामा पनि यही समूह संलग्न रहेको प्रहरीको दाबी छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले लुटपाटमा प्रयोग गरिएका दुई मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट, एक थान खुकुरी तथा घटनाका बेला लगाइएका कपडा बरामद गरेको जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *