देश

गुटको अन्त्य घोषणा गर्दै गगन, अब चुनौती नेतृत्व व्यवस्थापनको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सकिँदै गर्दा सभापति गगन थापा पार्टीभित्र आफूलाई बलियो नेतृत्वका रूपमा स्थापित गर्न सफल देखिएका छन्। बन्दसत्र समापनका क्रममा थापाले कांग्रेसमा लामो समयदेखि कायम रहेको गुटबन्दी अन्त्य भएको घोषणा गरेका छन्। राजनीतिक प्रतिवेदन अनुमोदनको अनुमति लिएर बन्दसत्र टुंग्याउने क्रममा थापाले विगतका विभिन्न समूह र गुट अब नरहेको दाबी गरे। उनका अनुसार ७४, ३६, देउवा, कोइराला, पौडेललगायतका नाममा चल्दै आएका समूहको औपचारिक अस्तित्व अब समाप्त भएको छ।

थापाले यसलाई १५औँ महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै सम्पूर्ण कांग्रेसलाई समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए। उनले प्रतिनिधिहरूलाई मतदान गर्दा गुटको आधारमा नभई सक्षम उम्मेदवार रोज्नसमेत आग्रह गरे। तर कांग्रेसमा गुट अन्त्य भएको थापाको घोषणालाई व्यवहारले कति पुष्टि गर्छ भन्ने प्रश्न भने खुला छ। सभापतिका अर्का आकांक्षी किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापासँग प्रतिस्पर्धामा श्यामकृष्ण खड्गी मात्र बाँकी रहे। यसले मतदानअघि नै थापाको सभापति पद लगभग सुनिश्चित गरिदिएको छ।

थापाले राठौरसहित मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, देवराज चालिसे, योगेश गौचन र मीन भामलगायत नेताहरूलाई समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पनि फरक मोर्चामा रहेकाले पदाधिकारी प्रतिस्पर्धामा नआउन उनको आग्रह थियो।

आकांक्षीहरूले थापाको आग्रहअनुसार उम्मेदवारी नदिनु वा फिर्ता लिनुले पनि महाधिवेशनमा बदलिएको शक्ति सन्तुलन देखाएको छ। विधान संशोधन गरेर पदाधिकारीको संख्या २४ पुर्‍याइए पनि विगतको तुलनामा आकांक्षीको संख्या भने उल्लेख्य छ। थापाकै बुझाइमा विगतमा गुटको टिकट नपाउने नेताले स्वतन्त्र रूपमा उम्मेदवारी दिने आँट गर्दैनथे। तर यसपटक आफूविरुद्ध कुनै संगठित गुट नभएको अवस्था बनेको उनको दाबी छ। गगन थापाको राजनीतिक यात्रा भने आजको अवस्थाभन्दा बिल्कुल फरक पृष्ठभूमिबाट सुरु भएको थियो। २०६२र६३ को लोकतान्त्रिक आन्दोलनबाट स्थापित भएका थापा १२औँ महाधिवेशनमा ३४ वर्षकै उमेरमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य बनेका थिए।

परम्परागत गुटले पदाधिकारीका लागि उनलाई अघि नसारेपछि थापाले आफ्नै राजनीतिक आधार निर्माण गर्ने रणनीति अपनाए। १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका उनले त्यसपछि १४औँ महाधिवेशनमा डा। शेखर कोइरालाको समूहबाट महामन्त्री जिते। उता विश्वप्रकाश शर्मा पनि प्रकाशमान सिंहको समूहबाट अघि बढ्दै महामन्त्री निर्वाचित भए। यसरी कांग्रेसमा गगन–विश्वको युवा नेतृत्व स्थापित भयो।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बलियो पकड रहे पनि बदलिएको राजनीतिक परिस्थितिले गगन–विश्वलाई शक्ति विस्तारको अवसर दियो। त्यसपछि उनीहरूले विभिन्न समूहमा रहेका नेताहरूलाई आफ्नो पक्षमा समेट्दै गए। विशेष महाधिवेशनपछि भने कांग्रेसको शक्ति समीकरण नै बदलियो। निर्वाचन आयोग र अदालतबाट आफ्नो पक्षले आधिकारिकता पाएपछि थापा नेतृत्वको संस्थापन थप बलियो बन्दै गयो। देउवा र कोइराला समूह क्रमशः कमजोर हुँदै गए।

गगन–विश्वको नेतृत्वमा विशेष महाधिवेशनको माग बलियो बन्नुमा जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। तत्कालीन नेतृत्वप्रति कांग्रेसभित्र बढेको असन्तुष्टिले उनीहरूको अभियानलाई बल पुर्‍यायो। विशेष महाधिवेशनमा विभिन्न पृष्ठभूमिका नेताहरू गगन–विश्व नेतृत्वको टिममा आए। देउवा निकट रहेका केही नेता तथा शेखर कोइराला निकट रहेका नेतासमेत नयाँ नेतृत्व संरचनामा समेटिए।

यसपछि अदालत र निर्वाचन आयोगबाट थापा नेतृत्वले निरन्तर वैधानिकता पाउँदै जाँदा कांग्रेसभित्रको पुरानो शक्ति संरचना भत्किँदै गयो। १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वसभापति देउवा तथा कोइराला पक्षका धेरै नेता गगनलाई स्वीकार गर्दै महाधिवेशनमा सहभागी भए।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये केही मात्र १५औँ महाधिवेशनमा सहभागी भएनन्। बाँकी ठूलो हिस्सा नयाँ शक्ति समीकरणमा समाहित भएको छ।

गगन थापा अहिले आफूले बनाएको राजनीतिक शक्तिको सबैभन्दा बलियो अवस्थामा छन्। तर यही अवस्था उनका लागि सबैभन्दा ठूलो चुनौती पनि बन्न सक्छ। कांग्रेसमा लामो समयदेखि गुटको राजनीति केवल नेतृत्व चयनको माध्यम मात्र नभई शक्ति बाँडफाँट र नेताहरूको व्यवस्थापनसँग जोडिएको थियो। अब गुट अन्त्य भएको घोषणा गरेपछि विभिन्न समूह र पृष्ठभूमिका नेताहरूलाई समान रूपमा अवसर दिने जिम्मेवारी थापामाथि आएको छ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनका अनुसार कांग्रेसजस्तो लामो समयदेखि गुटको प्रभावमा रहेको पार्टीमा गुट अन्त्य भएको घोषणा मात्र पर्याप्त हुँदैन। नेतृत्वले सबैलाई समेट्ने, योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिने र निर्णय प्रक्रियामा पक्षपात नगर्ने क्षमता देखाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार कांग्रेसमा बीपी कोइरालाले पनि आफ्नो समयका प्रभावशाली र फरक धारका नेताहरूलाई व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध राखेका थिए। थापाले पनि त्यस्तै क्षमता प्रदर्शन गर्न सके कांग्रेसमा नयाँ राजनीतिक संस्कार स्थापित गर्न सक्ने अवसर रहेको उनको विश्लेषण छ।

थापा स्वयंले पनि नेताहरूको व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने संकेत गरिसकेका छन्। सभापतिका रूपमा मिलाउनुपर्ने विषयमा आवश्यक निर्णय लिन आफू पछि नहट्ने उनको प्रतिबद्धता छ। तर आलोचकहरूको बुझाइमा थापाले अहिलेसम्म अपनाएको शैली भने सामूहिक गुटलाई कायम राख्नेभन्दा व्यक्तिगत रूपमा नेताहरूलाई आफ्नो पक्षमा ल्याउने खालको देखिन्छ। यसले पुराना गुटहरू कमजोर बनाए पनि भविष्यमा नयाँ प्रकारको शक्ति केन्द्र निर्माण हुन्छ कि हुँदैन भन्ने प्रश्न भने बाँकी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *