काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६, २७ र २८ गते गर्ने निर्णय गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले सो जानकारी दिएका हुन् ।
बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी खोली समिति सदस्यहरूलाई वितरण गरिएको थियो । प्रस्तावित राजदूतविरुद्ध सातवटा उजुरी परेको समितिले जनाएको छ ।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका लगायत १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको थियो ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ । यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति (एग्रिमो) प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ । त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।




