काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० दरखसवामा घरमै सुतिरहेकी १० वर्षीया बालिका मध्यराति बेपत्ता भएको ३७ घण्टापछि जंगलबाट उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय युवराज थारु ‘विशाल’लाई पक्राउ गरेको छ।
१५ असोज राति बालिका आफ्ना ५ वर्षीय भाइ, हजुरबुवा र हजुरआमासँग एउटै कोठामा सुतिरहेकी थिइन्। राति करिब ३ बजे हजुरबुवा शौचालय जान उठेपछि नातिनी ओछ्यानमा नरहेको थाहा पाएका थिए। नातिनी हराएको थाहा पाएलगत्तै परिवारले घर आसपास खोजी सुरु गरेको थियो। हजुरबुवाको होहल्लापछि छिमेकीसमेत जम्मा भएका थिए। तर घर, आँगन र आसपासका क्षेत्रमा खोजी गर्दा बालिका फेला परिनन्। घटनाबारे राति नै इलाका प्रहरी कार्यालय मंगलवालाई जानकारी गराइएको थियो। इन्स्पेक्टर ज्ञानेन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयले रातभर झाडी, खेतबारी तथा आसपासका क्षेत्रमा खोजी गरे पनि बालिकाको अवस्था पत्ता लाग्न सकेन।
बालिका हराएको घटनामा इलाका प्रहरी कार्यालय बुटवलबाट डीएसपी निशान्त श्रीवास्तवको टोलीसमेत परिचालन भयो। सादा पोशाकमा खटिएको टोलीले अनुसन्धान अघि बढायो।
त्यसैगरी जिल्ला तथा प्रदेश तहबाट पनि प्रहरी परिचालन गरिएको थियो। डीआईजी भुपेन्द्र खत्रीको निर्देशनमा पीआईटी टोलीसमेत परिचालन गरी प्राविधिक अनुसन्धान र ह्युम्यान इन्टेलिजेन्सलाई सँगसँगै अघि बढाइएको थियो।
भारतबाट हजुरबुवा–हजुरआमासँग घर फर्किएको भोलिपल्टै बालिका हराएकी थिइन्। त्यसैले प्रहरीले उनलाई चिनेजानेकै व्यक्तिले अपहरण गरेको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरेको थियो। अनुसन्धानका क्रममा तिलोत्तमा–१० कै युवराज थारु ‘विशाल’ प्रहरीको शंकाको घेरामा परे। उनको गतिविधिबारे जानकारी संकलन गर्दै प्रहरीले पोखरी, खेतबारी, झाडी र जंगलसम्म खोजी विस्तार गरेको थियो। डीआईजी खत्रीका अनुसार बालिकाको खोजीमा करिब १५० प्रहरी निरन्तर परिचालन गरिएको थियो।
जंगलमा भेटिइन् बालिका
विशाल प्रायः जंगलमै बस्ने गरेको जानकारी पाएपछि प्रहरीले जंगल केन्द्रित खोजीलाई थप तीव्र बनायो। ३७ घण्टापछि तिलोत्तमा–१० स्थित चक्रहवा जंगलमा सशंकित व्यक्ति देखिएको सूचना पाएपछि प्रहरी टोलीले जंगलमा व्यापक सर्च अपरेसन सञ्चालन गर्यो। ५५ जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा जंगल क्षेत्रमा स्विप अपरेसन चलाइए पनि त्यतिबेला विशाल फेला परेनन्। तर सोही क्रममा बेपत्ता भएकी १० वर्षीया बालिका जंगलमा एक्लै भेटिइन्।
१६ असोज दिउँसो करिब ३ बजे फेला परेकी बालिका बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले तत्काल उद्धार गरी उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई राति इलाका प्रहरी कार्यालय बुटवलको सेफ हाउसमा राखिएको र भोलिपल्ट आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालिका उद्धार भए पनि घटनामा संलग्न रहेको आशंका गरिएका विशाल भने तत्काल पक्राउ परेका थिएनन्। प्रहरीले उनको खोजीलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रमा निगरानी बढाएको थियो। खोजीका क्रममा १८ असोज बिहान तिलोत्तमा–१७ स्थित दरखसवाको धानबारीबाट विशाल फेला परेका थिए। पक्राउ गर्ने क्रममा प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका विशालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको साथबाट चक्कु र फलामे रडसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विशालले बालिकालाई करिब ३७ घण्टासम्म जंगलमा एक्लै राखेको देखिएको छ। स्थानीयका अनुसार उनी प्रायः जंगलमै खाने र सुत्ने गर्थे। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




