काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु हुँदैछ ।
महाधिवेशन प्रतिनिधिका लागि बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा बिहानी खाजाको व्यवस्था गरिएको छ । त्यसपछि बिहान सवा ९ बजेदेखि खुलामञ्चमा निर्माण गरिएका तीनवटा हलमा बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ ।
बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री र कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
त्यसपछि विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी छलफल अघि बढाइनेछ । विधानमाथिको छलफलपछि प्रतिनिधिका लागि दिउँसो साढे ११ बजेदेखि खानाको समय निर्धारण गरिएको छ ।
यसैबीच, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार आज प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । मंगलबार उम्मेदवारी दर्ता र बिहीबार मतदान गर्ने कार्यतालिका तय गरिएको छ ।




