काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र अनुभवअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री साहले भने, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ । देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।”
उनले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन सुझाव दिए । निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो विज्ञता र प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे ।
प्रधानमन्त्री साहले सांसदहरूलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै यस्ता व्यक्तिले नयाँ उपाय पहिल्याउने र त्यसलाई कार्यान्वयनमा लैजान सक्ने बताए । सांसदहरूले आफ्नो विज्ञता र अनुभवलाई मुलुक निर्माणमा केन्द्रित गरे पाँच वर्षमै उल्लेख्य परिवर्तन सम्भव हुने उनको धारणा थियो ।




