देश

पुस्तान्तरण र नीतिगत रूपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीभित्र पुस्तान्तरण, नवप्रवर्तन र नीतिगत रूपान्तरणलाई अघि बढाउने उद्देश्यले आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताका आकांक्षालाई समेटेर कांग्रेसलाई बदलिँदो विश्व परिवेशअनुकूल अघि बढाउनुपर्ने बताए।

उनले ९० वर्षभन्दा माथिका पुराना पुस्ताको अनुभवदेखि जेन जेड र अल्फा पुस्ताका अपेक्षासम्मलाई समेट्दै पार्टीको संगठनात्मक तथा नीतिगत क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

देश र कांग्रेस दुवै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै महरले विद्यमान समस्याको समाधानका लागि परम्परागत राजनीतिक अभ्यासमा परिवर्तन आवश्यक रहेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीको भूमिका प्रभावकारी बनाउन नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

महरले कांग्रेसलाई निर्वाचन जित्ने माध्यममा मात्र सीमित नराखी नागरिकका दैनिक समस्या र आवश्यकतासँग जोडिएको राजनीतिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, नवप्रवर्तन, युवा रोजगारी र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता विषयलाई राजनीतिक दलले प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

नागरिक र राजनीतिक नेतृत्वबीच बढ्दै गएको दूरी घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै महरले नागरिकमा देखिएको निराशा सम्बोधन गर्न र अर्थतन्त्रमा जनसहभागिता बढाउन कांग्रेसले पहल गर्नुपर्ने बताए।

पार्टी नेतृत्व चयनका विषयमा उनले योग्यता र क्षमतासँगै जनअपेक्षा तथा लोकप्रियतालाई पनि ध्यान दिनुपर्ने धारणा राखे। लोकतान्त्रिक प्रतिस्पर्धामा यी पक्षबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ छ।

महामन्त्री पदको उम्मेदवारी फिर्ता लिने समयसीमा समाप्त भइसकेकाले अब कुनै प्रकारको दबाबको औचित्य नरहेको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।

महाधिवेशनको मतदान प्रक्रियामा भएको ढिलाइबारे प्रतिक्रिया दिँदै महरले मतपत्र छपाइ तथा आन्तरिक व्यवस्थापनका केही प्राविधिक कामका कारण मतदान सुरु हुन ढिलाइ भएको बताए।

निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार निर्धारित समयमा मतदान सुरु हुने र महाधिवेशन प्रतिनिधिले विवेकपूर्ण रूपमा नेतृत्व चयन गर्ने विश्वास उनले व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *