काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक ठगी तथा अन्य विवादसम्बन्धी आरोपहरू अस्वीकार गरेका छन्। उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई उचालेर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका छन्।
बुधबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सुनारले आफूमाथि कुनै पनि प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको, पक्राउ पुर्जी जारी नभएको र अदालतबाट सजायसमेत नभएको जिकिर गरे।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले सुनारविरुद्ध परेका उजुरीमा उल्लेखित विषय उठाउँदै विभिन्न प्रश्न गरेका थिए। उनले महिलामाथि घरेलु हिंसा गरेको, दलित अभियन्ताका नाममा करोडौँ रुपैयाँ उठाएको, नेपाल प्रहरीका डीआईजीलाई एआईजी बनाइदिने भन्दै रकम असुलेको तथा सांसद बनाइदिने प्रलोभनमा ठगी गरेको आरोपबारे स्पष्ट पार्न माग गरेका थिए।त्यस्तै, ‘हाम्रो नेपाल पार्टी’को केन्द्रीय सदस्य रहेको र जर्मनीबाट डिपोर्ट भएको भनिएको विषयले नेपालको कूटनीतिक छविमा पार्न सक्ने असरबारे पनि सांसद चौलागाईंले प्रश्न गरेका थिए।
जवाफमा सुनारले आफूमाथिका आरोपहरू निराधार रहेको दाबी गर्दै विगतमा एक महिलासँग टेलिफोनमा भनाभन भएको घटनालाई घरेलु हिंसाको रूपमा प्रस्तुत गरिएको बताए। उनले पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित गरेर आफूविरुद्ध प्रयोग गरिएको तर्क गरे।
सुनारले आफू लामो समयदेखि महिला हिंसाविरुद्धको अभियानमा सक्रिय रहेको उल्लेख गर्दै पाँच हजारभन्दा बढी महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिएको तथा यस विषयमा दर्जनौँ लेख र पुस्तक प्रकाशन गरेको विवरण प्रस्तुत गरे।
उनले ओशो तपोवनसँग सम्बन्धित पुरानो विवादमा अदालतबाट मुद्दा हारेकी एक महिलाले प्रतिशोध साँधेर आफ्नो वृत्तिविकासमा अवरोध पुर्याउन खोजेको आरोपसमेत लगाए। यद्यपि, सुनुवाइमा उठेका आरोप र तिनको स्वतन्त्र पुष्टि सम्बन्धमा बैठकमा प्रस्तुत विवरणबाहेक थप प्रमाण सार्वजनिक भएको छैन।आफ्नो सामाजिक योगदानबारे चर्चा गर्दै सुनारले मेलम्ची खानेपानी आयोजनामा ‘सोसल सेफगार्ड विज्ञ’का रूपमा काम गरेको तथा २०७२ सालको भूकम्पका बेला २० देखि २५ जनाको उद्धारमा संलग्न भएको बताए।
दलित अधिकार, अन्तरजातीय विवाह र लैङ्गिक समानताका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले आफूमाथि लगाइएका आर्थिक र राजनीतिक प्रकृतिका आरोपहरू पनि अस्वीकार गरे। संसदीय सुनुवाइका क्रममा उठेका प्रश्न र प्रस्तावित राजदूतको जवाफले उनको नियुक्तिसम्बन्धी विवादलाई थप चर्चामा ल्याएको छ। आरोपहरूको सत्यता र नियुक्तिबारेको अन्तिम निर्णय भने सम्बन्धित निकायको प्रक्रिया तथा निष्कर्षमा निर्भर रहनेछ।




