देश

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

काठमाडौँ । युरोपेली सङ्घको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्।

वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीलाई बिहीबार आयोजित समारोहमा पुरस्कृत गरिएको हो।

पुरस्कार वितरण कार्यक्रममा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) अन्तर्गत दुई उद्यमी विजेता घोषित भएका छन्।

हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको रिअप स्टुडियो, लुम्बिनी प्रदेशको इकोदोस्ती प्रालि र मधेस प्रदेशको कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत एबी बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही सात लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न जोड

पुरस्कार वितरण समारोहमा क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न उनीहरूले देखाएको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्।

उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन्।

क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालन गर्दा लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्तिबीच सहभागी उद्यमीले वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताइन्।

हरित अर्थतन्त्रको प्रवर्द्धन र दिगो व्यवसायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन्। प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।

२१ सहभागीबीच प्रतिस्पर्धा

पुरस्कार वितरण समारोहअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुईदिने आवासीय बुटक्याम्प सञ्चालन गरिएको थियो।

बुटक्याम्पमा सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो।

दुवै कार्यक्रमको अन्तिम चरणमा पुगेका २१ सहभागीले निर्णायक मण्डल तथा आमन्त्रित सरोकारवाला निकायका प्रतिनिधिसमक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र समाधान प्रस्तुत गरेका थिए। सहभागीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ जना थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *