काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्न निर्देशन दिएका छन्। उनले परीक्षा सम्पन्न भएको बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक तयारी गर्न विश्वविद्यालय नेतृत्वलाई आग्रह गरेका हुन्। बिहीबार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकतामा राख्न निर्देशन दिए।
उनले विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित समयमै परीक्षा र नतिजा प्रकाशनको व्यवस्था मिलाउनुपर्ने बताए। परीक्षा र नतिजामा हुने ढिलाइ त्रिविको लामो समयदेखिको समस्याका रूपमा रहेको भन्दै त्यसको अन्त्यका लागि ठोस सुधार आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई पठनपाठनमा मात्र सीमित नराखी राष्ट्रिय नीति, कानुन तथा पाठ्यक्रम निर्माणमा समेत योगदान गर्ने अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्नुपर्ने बताए। विश्वविद्यालयले देशको ज्ञान, अनुसन्धान र नीतिगत बहसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
नेपालका १५ वटै विश्वविद्यालय कुनै न कुनै रूपमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएकाले अन्य विश्वविद्यालयसँग समन्वय र सहकार्य गर्ने अभिभावकीय भूमिका पनि त्रिविले निर्वाह गर्नुपर्ने उनले बताए। त्रिविको अधिकार र सेवा काठमाडौं केन्द्रित बनाउने प्रवृत्तिलाई अन्त्य गर्दै विकेन्द्रीकरणमा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो। उनले यसै वर्षदेखि काठमाडौं बाहिरका प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गरेर विकेन्द्रीकरणको अभ्यास अघि बढाउन लागिएको जानकारी दिए।
उनले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका त्रिविका आंगिक क्याम्पसका जीर्ण भौतिक संरचना सुधार गर्न पनि आग्रह गरे। क्याम्पस परिसरमा रहेका पार्क तथा खुला क्षेत्रको सरसफाइ र सौन्दर्यीकरण गर्दै विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्ने उनले बताए।
मन्त्री पोखरेलले पठनपाठनसँगै विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच र अनुसन्धानको संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिए। त्यसका लागि त्रिविमा स्थापना गरिएका इनोभेसन सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी विद्यार्थीको अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न उनले आग्रह गरे।




