काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको बताउनुभएको छ ।
महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले निर्वाचनको परिणामले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको उल्लेख गर्नुभएको छ ।
कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गर्दै शर्माले पदमा रहे पनि नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्श आत्मसात् गर्दै पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि प्रयास जारी राख्ने बताउनुभएको छ ।
चुनावी अभियानमा सहयोग गर्ने अग्रज, सहयात्री, शुभेच्छुक तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिँदै शर्माले पार्टी र देशको हितमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।




