काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ । सेनाले हेलिकप्टर र स्थलमार्गबाट सुरक्षा टोली परिचालन गरी जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याएको हो ।
नेपाली सेनाले आइतबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४९ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार कार्यका लागि सेनाका चारवटा हेलिकप्टरसहित स्थलमार्गबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ । अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप उद्धार कार्य भइरहेको सूचनामा उल्लेख छ ।
बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानमा घर, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा र थप जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय सक्रिय रहेका छन् ।




