देश

जीर्ण बानेश्वरनाथ झोलुङ्गे पुलबाट आवागमन जोखिमपूर्ण

रौतहट। रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ ।

पुलका विभिन्न संरचना कमजोर हुँदै गएपछि सम्भावित दुर्घटना रोक्न तत्काल मर्मतसम्भार गर्न स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिममा रहेको उक्त पुल मधेस प्रदेशकै लामो झोलुङ्गे पुलमध्ये एक मानिन्छ । पुल सञ्चालनमा आएदेखि गौर र ईशनाथ क्षेत्रका स्थानीयवासी, पैदलयात्री तथा साइकल र मोटरसाइकल चालकले यसलाई आवागमनको प्रमुख मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार पुलमा जडान गरिएका फलामे जाली, नट-बोल्ट र भार थेग्ने मुख्य फलामे तार कमजोर हुँदै गएका छन् । विभिन्न स्थानमा फलामे तार नट-बोल्टबाट छुट्टिएर झुन्डिएका छन् भने कतिपय संरचना खुकुलो भएका छन् ।

पुलका दुवैतर्फ रहेका भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न ठाउँमा खुस्किने र लचिलो हुने समस्या देखिएको स्थानीयको भनाइ छ । यसले दैनिक आवतजावत गर्ने सर्वसाधारणमा सुरक्षा चिन्ता बढाएको छ ।

स्थानीयवासीले दुर्घटना भएपछि मात्रै मर्मत गर्ने प्रवृत्ति अन्त्य गरी जोखिम देखिनेबित्तिकै आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले समयमै प्राविधिक जाँच र मर्मत नगरिए ठूलो दुर्घटना हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पुलको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित प्राविधिक निकायबाट तत्काल स्थलगत निरीक्षण र परीक्षण गर्नुपर्ने स्थानीयको माग छ । परीक्षणपछि जोखिमयुक्त संरचनाको मर्मत, आवश्यक सुरक्षा व्यवस्था र मर्मत नसकिँदासम्म सुरक्षित आवागमनका लागि उचित नियन्त्रणका उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीयवासीले सम्बन्धित नगरपालिका तथा पुलको रेखदेखको जिम्मेवारी पाएको निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *