काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडित समूहबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना बिहीबार राति नै सम्पन्न भएको थियो ।त्यसैगरी सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए ।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र शुक्रबार नै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको कटुवालले बताए ।असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन रातिदेखि सभापति पदको मतगणना सुरु गरिएको थियो । राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।
निर्वाचन समितिका सदस्य सचिव कटुवालले अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको दाबी गरे । उनका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ ।




