देश

‘बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

बडादसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्‍याएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन् ।

दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, सांस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्त्व रहेको बताएका छन् ।

साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुन:स्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *