देश

काठमाडौंका पस्मिना उद्योगबाट १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । नेपालमा अवैध रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले काठमाडौंका विभिन्न पस्मिना उद्योगमा काम गरिरहेका १० जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण हेडक्वार्टर ९विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा०, बाघभैरवबाट प्रहरी निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार ईन्द्र श्रेष्ठको रुबि पस्मिना कम्पनी, मुके शेर्पाको लिस्टिमाई पस्मिना उद्योग, राजु महतको आरपी पस्मिना उद्योग, ईबकुमारी तिरुवाको सिद्धार्थ सिवानी पस्मिना उद्योग र श्यामप्रसाद बजगाईँको गोल्डेन पस्मिना ह्यान्डिक्राफ्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्र कार्कीले अवैध रूपमा नेपाल प्रवेश गरी विभिन्न पस्मिना कारखानामा काम गरिरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा ४५ वर्षीय मोहम्मद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल कादर, ३७ वर्षीय मोहम्मद आलम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागमा बुझाइएको प्रवक्ता कार्कीले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *