देश

सिन्धुपाल्चोक कांग्रेसमा नियमित अधिवेशन पक्षधरको जोड, मिठु बोहोराको नेतृत्वमा नयाँ कार्यसमिति

सिन्धुपाल्चोक । नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका कार्यसमितिको १५औँ नियमित अधिवेशन मिठु बोहोराको सभापतित्वमा सम्पन्न भएको छ। अधिवेशनले बोहोराको नेतृत्वमा नयाँ गाउँपालिका कार्यसमिति गठन गरेको छ।

२०८३ असोज २५ गते सम्पन्न अधिवेशनमा कांग्रेसका पूर्व जिल्ला सदस्य रामकुमार रिसाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सदस्यसहित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

अधिवेशनमा बोल्ने नेताहरूले पार्टीभित्र देखिएका विवाद र मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सिन्धुपाल्चोकमा नियमित अधिवेशनको पक्षमा रहेका नेताकार्यकर्ता बलियो रहेको दाबीसमेत गरे।

कार्यक्रममा वडा नम्बर ३ का सभापति ज्ञानेन्द्र नेपाल र वडा नम्बर ६ का सभापति रामहरी बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टी एकताको विकल्प नरहेको बताएका थिए। ज्ञानेन्द्र नेपालले नियमित अधिवेशन पक्षधरहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। पार्टीभित्रको एकता बलियो बनाएर आगामी निर्वाचनमा विजय हासिल गर्ने दिशामा संगठन परिचालित हुनुपर्ने उनको भनाइ थियो।

अधिवेशनबाट निर्वाचित गाउँपालिका कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूलाई प्रमुख अतिथि रिसाल र विशेष अतिथि नर्वु सेर्पाले प्रमाणपत्र वितरण गरेका थिए। पार्टीभित्र मतभेद रहे पनि नियमित अधिवेशनमार्फत संगठनलाई व्यवस्थित बनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश अधिवेशनमा सहभागी नेताहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *