विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु भएको छ।
दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान प्रदेशका मुख्यमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
सम्मेलनमा प्रदेशका साझा समस्या, अधिकार बाँडफाँट, आर्थिक स्रोतको वितरण, प्रशासनिक स्वायत्तता र वित्तीय संघीयताका विषयमा छलफल हुने बताइएको छ। संविधानले प्रदान गरेका अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउने विषय पनि सम्मेलनको प्राथमिकतामा रहेको छ।
सम्मेलनमा मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ताहरू सहभागी छन्। प्रदेशबीच समन्वय बढाउने, कानुन निर्माणमा एकरूपता कायम गर्ने र सफल अभ्यास आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।
प्रदेशहरूले आफ्ना माग अलग-अलग रूपमा उठाउँदै आए पनि यसपटक साझा धारणा बनाएर संघीय सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखेका छन्। प्रदेशलाई आवश्यक अधिकारसँगै बजेट, जनशक्ति र प्रशासनिक संरचना उपलब्ध गराउनुपर्ने विषय पनि सम्मेलनमा उठाइनेछ।
सम्मेलनको अन्त्यमा प्रदेशका साझा माग, प्रतिबद्धता र संघीयता प्रभावकारी बनाउने उपाय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ।
सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मंगलबहादुर शाही सहभागी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट उपस्थित हुन नसकेपछि उनको प्रतिनिधित्व गर्दै प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी भएका छन्।




