देश

प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति अझै तय भएन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन ।

‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइसकेको छैन । मिति तय भएपछि जानकारी गराउनेछौँ,’ प्रवक्ता क्षेत्रीले भने ।

यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी कार्यसूची तयार पार्ने काम भइरहेको जनाएको थियो ।

प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणबाहेक अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा तिनका कार्यसूची निर्माणमा समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *