देश

जेनजी आन्दोलनका घाइतेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले ‘जेनजी’ आन्दोलनका घाइतेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले झापाको बिर्तामोडमा केही दिनदेखि आमरण अनशनमा बसेका जेनजी आन्दोलनका घाइते युवाको माग र अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

झापा क्षेत्र नं. ३ का सांसद पाठकले आन्दोलनका घाइतेलाई न्याय, उपचार र उचित व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड निर्धारण गरे पनि पछिल्लो सिफारिसमा त्यसको कार्यान्वयन नभएको आरोप लगाए। अन्तर्राष्ट्रिय निकायमा काम गरेको व्यक्ति राजदूत पदका लागि योग्य हुनुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नभएको उनले बताए।

सांसद शम्भुकुमार यादवले विद्युतीय उपकरण प्रयोग गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेको उल्लेख गर्दै सुरक्षित विद्युत् सेवा सुनिश्चित गर्न सरकारसँग माग गरे।

सिरहामा गत वर्ष करेन्ट लागेका १२६ घटना भएको र ती घटनामा ५० जनाको मृत्यु भएको जानकारी दिँदै उनले उपभोक्तामा चेतनाको कमीका साथै विद्युतीय पूर्वाधार, मापदण्ड र सम्बन्धित निकायको जवाफदेहितामा समेत कमी रहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *