काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया दोस्रो दिन पनि जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ४ गते आइतबार ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको समितिले जनाएको छ ।कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
रसुवा, नुवाकोट र धादिङबाहेकका जिल्लामा आइतबार वडा अधिवेशन जारी रहेको थियो । ती जिल्लामा भने बाढी तथा विपद्का कारण छुट्टै मिति तय गरी अधिवेशन गर्ने तयारी गरिएको छ ।
त्यस्तै, सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २ लगायत आज सम्पन्न हुन नसकेका वडा अधिवेशनहरू असोज ५ गते सोमबार पनि जारी रहने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।





