देश

प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्नुपर्ने तथा विपद्जन्य घटनामा उद्धार र खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्य उपचारलगायत अत्यावश्यक विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई आउन थालेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य तथा सञ्चार क्षेत्रका आचारसंहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन्।

नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजी कार्यमा तीव्रता दिन आग्रह गरे।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर महिलाको मृत्यु भएको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायतका विषयमा ध्यान दिन आग्रह गरे।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्या रहेको उल्लेख गर्दै एक चेली लामो समयदेखि सडकमा बस्न बाध्य भएकाले यस्ता समस्या सम्बोधन गर्न आवश्यक कानुन ल्याउन माग गरिन्।

रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीको समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिरहेका छन् भन्नेबारे अध्ययन गरी कडा कारबाही गर्न माग गरे।

सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गएराति आएको बाढीका कारण असुरक्षा बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे।

सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्तिगत सम्बन्ध वा सामाजिक विवादका कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरे।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त स्रोतसाधन नहुँदा राहत तथा उद्धारका कामले अपेक्षित गति लिन नसकेको बताए।

सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी तथा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले बाढीपहिरोको रोकथाम तथा सडक दुर्घटनाको गम्भीर अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक कदम चाल्न आग्रह गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *