देश

बाँकेमा एक वर्षमै १९३ नयाँ कुष्ठरोगी फेला

राँझा, बाँके । बाँकेमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् ।

जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका बाँके, बर्दिया तथा विभिन्न पहाडी जिल्लाका बिरामीमध्ये १९३ जनामा कुष्ठरोग पुष्टि भएको अस्पतालका प्रमुख मंगल थारुले जानकारी दिए । तीमध्ये ८१ जना बाँकेका रहेको उनले बताए ।

पहिचान भएका बिरामीमध्ये ६२ प्रतिशतमा कुष्ठरोगका कीटाणु भेटिएको अस्पतालले जनाएको छ । थारुका अनुसार बाँकेमा कुष्ठरोगको प्रकोप घट्नुको साटो हरेक वर्ष नयाँ बिरामी फेला पर्ने क्रम बढिरहेको छ । लुम्बिनी प्रदेशमै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

अस्पतालले कुष्ठरोगीको पहिचान तथा उपचारसँगै अपाङ्गता रोकथाम, सम्पर्क परीक्षण, समुदायस्तरीय छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्पतालले कुष्ठरोगको निःशुल्क उपचार सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १७४ जना र २०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए । उनीहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुष्ठरोगीप्रति समाजमा हुने लाञ्छना र विभेद अझै हट्न नसकेको बताइन् । नयाँ बिरामीको पहिचान र जनचेतना अभिवृद्धिका लागि सरकारले थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

सरकारसँग कुष्ठरोग निवारणका लागि लक्षित विशेष नीति तथा कार्यक्रम प्रभावकारी रूपमा नभएका कारण सरकारी स्वास्थ्य संस्थाले समेत नयाँ बिरामी पहिचानका लागि साइनिङ अस्पताल र आईएनएफलगायत संस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *