देश

बाढी उद्धारमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै सरकार, अत्यावश्यक उपकरणको सूची पठाइयो

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्यावश्यक उद्धार सामग्री र उपकरणको सहयोग मागेको छ।परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा खोज, उद्धार र डीएनए पहिचानमा संलग्न सरकारी निकायसँग समन्वय गरी आवश्यक सामग्रीको सूची तयार पार्दै अन्तर्राष्ट्रिय साझेदार राष्ट्र तथा निकायलाई औपचारिक रूपमा सहयोगका लागि आग्रह गरेको जनाएको छ।

मन्त्रालयका अनुसार विपद् प्रतिकार्य कार्यलाई थप प्रभावकारी बनाउन एक दर्जनभन्दा बढी प्रकारका अत्यावश्यक उपकरण र सामग्री आवश्यक परेको छ।सरकारले माग गरेका सामग्रीमा उच्च क्षमताका बेली ब्रिज, महामारी नियन्त्रण तथा रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि सञ्चालन गर्न सकिने ड्रोन, पोर्टेबल जेनरेटर, उच्च क्षमताका सर्ज पम्प तथा प्रयोगशालाका लागि आवश्यक फ्रिजर रहेका छन्।

त्यस्तै, जटिल तथा जोखिमपूर्ण क्षेत्रमा उद्धार कार्य सञ्चालन गर्न आवश्यक विशेष उद्धार पोसाक र अन्य उपकरणसमेत सहयोगका लागि माग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्बन्धित अन्तर्राष्ट्रिय साझेदारहरूलाई औपचारिक पत्राचारमार्फत आवश्यक सामग्रीको विवरण उपलब्ध गराइसकेको बताएको छ। ‘आवश्यक सहयोग समयमै परिचालन गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय भइरहेको छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहँदा सडक, पुल तथा अन्य पूर्वाधारमा भएको क्षतिका कारण राहत र उद्धार सामग्री पुर्‍याउन चुनौती देखिएको छ। यस्तो अवस्थामा सरकारले स्वदेशमा उपलब्ध स्रोतसाधन पर्याप्त नभएपछि अन्तर्राष्ट्रिय समुदायसँग थप प्राविधिक तथा उद्धार सामग्रीको सहयोग मागेको हो। सरकारले आवश्यक उपकरण समयमै प्राप्त भएमा खोज, उद्धार, स्वास्थ्य सुरक्षा तथा प्रभावित क्षेत्रको पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *