काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको काठमाडौंस्थित सम्पर्क कार्यालयमा तोडफोड भएपछि बाढी प्रभावित श्रमिकको उद्धार, राहत तथा उपचार व्यवस्थापनमा असर परेको कम्पनीले जनाएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी सिनो हाइड्रो (पावर चाइना) को काठमाडौं कार्यालयमा मंगलबार आक्रोशित समूह प्रवेश गरी तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको कम्पनीको दाबी छ। कम्पनीका मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट शाखा प्रमुख शिशिर तामाङका अनुसार घटनापछि कार्यालयको नियमित काम प्रभावित भएको छ। प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका श्रमिकको व्यवस्थापन, अस्पतालमा उपचाररत घाइतेको रेखदेख तथा सम्पर्कविहीन कामदारको खोजीसम्बन्धी कामसमेत प्रभावित भएको उनले बताए।
कम्पनीका अनुसार कार्यालय पुगेको समूह आयोजनासँग सम्बन्धित साझेदार वा ठेकेदार कम्पनीमा कार्यरत कर्मचारीका आफन्त थिए। आफ्ना परिवारका सदस्य आयोजनास्थलमा फसेको भन्दै उनीहरूले तत्काल थप उद्धार टोली परिचालन गर्न दबाब दिएका थिए।
उनीहरूले चीनबाट उद्धार टोली ल्याउनसमेत माग गरेको कम्पनीको भनाइ छ। कम्पनीले भने अन्तर्राष्ट्रिय उद्धार टोली परिचालनका लागि नेपाल सरकारबाट कूटनीतिक पहल आवश्यक पर्ने जानकारी गराउँदै आवश्यक प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको थियो।
तर, छलफल जारी रहेकै बेला कार्यालयमा तोडफोड भएपछि अवस्था तनावपूर्ण बनेको कम्पनीको दाबी छ।
कम्पनीले आफ्नै पहलमा निजी हेलिकप्टर चार्टर गरी प्रभावित क्षेत्रमा उद्धार टोली पठाउने प्रयास गरेको जनाएको छ। तर सरकारी स्वीकृति, प्राविधिक जटिलता तथा हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थानको अभावका कारण योजना कार्यान्वयन हुन नसकेको कम्पनीले बताएको छ।
प्रभावित क्षेत्रमा ठूला हेलिकप्टर अवतरण गर्न सक्ने स्थान नभएकाले साना हेलिकप्टर मात्र प्रयोग गर्न सकिने र त्यस्ता हेलिकप्टरबाट आवश्यक भारी उपकरण ढुवानी गर्न नसकिने अवस्था रहेको कम्पनीको भनाइ छ।
विपद्को सुरुआती चरणमा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा कम्पनीसँग सीमित जानकारी मात्र रहेको बताइएको छ। सम्पर्क पुनःस्थापित भएपछि कामदारहरूको विवरण संकलन गरी उनीहरूको सम्भावित अवस्थिति सम्बन्धी जीपीएस विवरण तयार पारिएको कम्पनीले जनाएको छ।
सोही विवरणका आधारमा गृह मन्त्रालय, नेपाली सेना तथा अन्य सम्बन्धित निकायलाई उद्धारका लागि औपचारिक रूपमा अनुरोध गरिएको कम्पनीको दाबी छ।
कम्पनीले नुवाकोटको बटारमा बसको व्यवस्था गरी उद्धार गरिएका कामदारलाई काठमाडौं ल्याउने व्यवस्था मिलाएको पनि जनाएको छ। काठमाडौं ल्याइएका श्रमिकलाई अस्थायी बसोबास, खानपान तथा घर फर्कन चाहनेलाई यात्रा खर्च उपलब्ध गराइएको कम्पनीले बताएको छ।
टाढाका जिल्लामा घर भएका श्रमिकका लागि हवाई टिकटको व्यवस्थासमेत गरिएको दाबी गरिएको छ।
आयोजनामा कुल एक हजार १ सय ९९ जना श्रमिक कार्यरत रहेको कम्पनीको विवरण छ। तीमध्ये हालसम्म ५ सय ३१ जनासँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
कम्पनीका अनुसार कार्यालयमा भएको पछिल्लो घटनापछि सम्पर्कविहीन श्रमिकको विवरण अद्यावधिक गर्ने, परिवारसँग समन्वय गर्ने तथा थप खोजीका लागि आवश्यक जानकारी संकलन गर्ने काम अवरुद्ध भएको छ।
तोडफोड र कर्मचारीमाथि भएको व्यवहारपछि कार्यालयका कर्मचारीमा सुरक्षाको त्रास बढेको कम्पनीको भनाइ छ। असुरक्षित वातावरणका कारण केही कर्मचारीले जागिर छाड्ने सोच बनाएको तथा पारिवारिक दबाबसमेत बढेको तामाङले बताए।
उनले अस्पतालमा उपचाररत कर्मचारी तथा उद्धार गरिएका श्रमिकलाई आवश्यक सहयोग पुर्याउनुपर्ने अवस्था रहे पनि कर्मचारी स्वयं कार्यालय जान नसक्ने स्थितिमा पुगेको बताए।
कम्पनीले कार्यालयमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न नसकिए प्रभावित श्रमिकको राहत, उपचार र व्यवस्थापनमा थप समस्या उत्पन्न हुन सक्ने जनाएको छ।




