काठमाडौँ। बाढीप्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन (ओसीभी)’ अभियान तीव्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढीप्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन् । रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
यसैबीच बाढीप्रभावित क्षेत्रमा टिटानस-डिफ्थेरिया (टीडी) खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ । रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टीडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिडी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनअनुसार बाढीपछि शंकास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये रसुवाका छ र नुवाकोटका दुई वटा नमुना छन् ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताए ।
उनका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोगविरुद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसीभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ ।




