काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जलविद्युत् व्यवसायी मोहनविक्रम कार्की र उनको नेतृत्वमा रहेका विभिन्न जलविद्युत् कम्पनीहरूले १ करोड ६५ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। सहयोग रकमको बैंक चेक कार्कीले भदौ १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै कार्कीले प्राकृतिक विपद्का बेला निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए। विपद्का कारण समस्यामा परेका नागरिकको पीडा कम गर्न राज्यका उद्धार तथा राहत प्रयासमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो।
सिन्धुपाल्चोकका कार्की निजी क्षेत्रबाट जलविद्युत् विकासमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्। उनी इलेक्ट्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष हुनुका साथै हिल्टन हाइड्रो इनर्जी लिमिटेडलगायत विभिन्न जलविद्युत् कम्पनीको नेतृत्वमा छन्। उनको नेतृत्वमा सिन्धुपाल्चोक, ताप्लेजुङ, म्याग्दी र लमजुङलगायत जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनमा छन्।
कार्की तथा उनको नेतृत्वमा रहेका कम्पनीहरूले जलविद्युत् उत्पादनसँगै स्थानीय रोजगारी, सामुदायिक विकास र ऊर्जा सुरक्षामा समेत योगदान दिँदै आएका छन्। विपद्का बेला गरिएको आर्थिक सहयोगलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गरिएको सहयोगमध्ये कार्कीले व्यक्तिगत रूपमा २५ लाख रुपैयाँ दिएका छन्। त्यस्तै, कालिका इनर्जी लिमिटेड, सूर्य होल्डिङ्स लिमिटेड, हाइड्रो भिलेज लिमिटेड र इलेक्ट्रो पावर कम्पनी लिमिटेडले २५-२५ लाख रुपैयाँ सहयोग गरेका छन्। काबेली हाइड्रोपावर कम्पनी लिमिटेड, हिलटन हाइड्रो इनर्जी लिमिटेड, स्नो रिभर्स लिमिटेड र आशुतोष इनर्जी लिमिटेडले भने १०-१० लाख रुपैयाँ प्रदान गरेका छन्।
बाढीका कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन राहतदेखि पुनर्स्थापनासम्मका कार्यमा सहयोग रकम उपयोग हुने अपेक्षा गरिएको छ। राष्ट्रिय विपद्का समयमा सरकारका राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सन्देशसमेत यस सहयोगले दिएको छ।




