देश

माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा सेनाको खोज तथा उद्धार प्रयास तीव्र

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको हो।

नेपाली सेनाका अनुसार आज बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सुरुङ क्षेत्रमा परिचालन भएका छन्। टोलीले सुरुङभित्र खन्ने तथा सम्भावित स्थानमा खोजी गर्ने काम गरिरहेको छ।

यसअघि भदौ १४ गतेदेखि नै नेपाली सेनाको १५ सदस्यीय टोलीले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीसँग समन्वय गरी आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार सुरु गरेको थियो।

यसअघि भदौ १३ गते नेपाल सरकारको अनुमतिमा चिनियाँ उद्धार टोली निजी हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा पुगेर रेकी गरेको थियो।

चिनियाँ टोलीले सोही क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको समेत स्थलगत रेकी गरेको थियो। दुवै आयोजनाको अवस्थाबारे जानकारी लिएपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।

भदौ १४ गते भने चिनियाँ उद्धार टोली रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो।

यता माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना र विद्युत् प्राधिकरणको टोलीले खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। सुरुङभित्रको वास्तविक अवस्थाबारे थप खोजीपछि मात्र यकिन हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *