देश

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाइने

झापा। जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को संक्रमणबाट जिल्लामा छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालय झापाले बृहत् खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ।

जिल्लामा संक्रमण र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाटै खोप अभियान सुरु गर्न लागेको स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानअन्तर्गत भदौको अन्तिम सातादेखि ३० वर्षमाथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको कार्यालय प्रमुख ब्रिजकुमार दासले जानकारी दिए।

अभियानका लागि आवश्यक खोप भण्डारण तथा व्यवस्थापनको काम तीव्र पारिएको उनले बताए। सामान्यतया १५ वर्षमुनिका बालबालिका जापानिज इन्सेफ्लाइटिसबाट बढी प्रभावित हुने मानिए पनि झापामा भने ५० वर्षमाथिका दीर्घरोगीमा संक्रमण र मृत्युदर बढी देखिएको दासले बताए।

उनका अनुसार गत असार र साउनमा जिल्लाभर १२ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएकोमा छ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका–३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका–१४ की ५४ वर्षीया महिला, मेचीनगर–८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका–२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका–१० की ७३ वर्षीया महिला रहेका छन्।

धानखेत, फोहोर तथा हिलोमा पाइने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्लाजस्ता पशुपन्छीबाट जापानिज इन्सेफ्लाइटिसको भाइरस मानिसमा सार्ने गर्छ। संक्रमणको जोखिम न्यूनीकरणका लागि लामखुट्टेको टोकाइबाट बच्न तथा घरवरिपरि सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्लाका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *