काठमाडौँ । भोटेकोशीमा बाढी आएको पाँचौँ दिनसम्म पनि ठूलो संख्यामा मानिसहरू बेपत्ता छन्। हराइरहेकाको तुलनामा फेला पर्नेको संख्या भने निकै न्यून रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘उद्धार अनुरोध पोर्टल’मा हालसम्म १५ हजार ३९३ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ। पोर्टलमा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार २२७ जनाको बेपत्ता भएको विवरण थपिएको छ।
पोर्टलमा रिपोर्ट गरिएकामध्ये ६७८ जना १८ वर्षमुनिका बालबालिका र ४१५ जना ज्येष्ठ नागरिक छन्।तर, पोर्टलमा प्राप्त विवरणलाई बेपत्ता व्यक्तिको आधिकारिक संख्या मान्न नसकिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। पोर्टलमा जोसुकैले विवरण प्रविष्ट गर्न सक्ने भएकाले एउटै व्यक्तिको नाममा एकभन्दा बढी रिपोर्ट पर्न सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ।
‘पोर्टलमा १५ हजारभन्दा बढी रिपोर्ट आएका छन्। ती विवरणलाई क्रस–चेक र प्रमाणीकरण गर्नुका साथै दोहोरिएका विवरण हटाएपछि मात्र आधिकारिक सूचीमा राखिन्छ।
यद्यपि, अहिलेसम्म प्रमाणीकरण भएको बेपत्ताको संख्या पनि ठूलो छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो आधिकारिक तथ्यांकअनुसार २ हजार ५०२ जना अझै बेपत्ता छन्।
प्राधिकरणका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना छन्। त्यस्तै, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार तथा विभिन्न जलविद्युत् आयोजनाका ९३३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीनमध्ये ५९२ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै, विदेशी पर्यटकसँगै भ्रमणमा गएका १२७ जना नेपालीसमेत बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
पोर्टलमा आएको ठूलो संख्याको विवरण र आधिकारिक रूपमा प्रमाणीकरण भएको संख्याबीच ठूलो अन्तर देखिएकाले बेपत्ताको वास्तविक अवस्था यकिन गर्न खोज, प्रमाणीकरण तथा विवरण अद्यावधिक गर्ने कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।




