देश

नवलपुरमा भेटिएका ११० शवमध्ये ४९ पहिचान र परीक्षणका लागि जिल्लाबाहिर पठाइयो

नवलपुर। रसुवाको भोटेकोशीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएका शवमध्ये ४९ वटा पहिचान तथा परीक्षणका लागि जिल्ला बाहिर पठाइएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा शव व्यवस्थापनका लागि पर्याप्त स्थान नभएपछि ४१ वटा शव पोखरा र आठ वटा शव पाल्पा पठाइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए।

उनका अनुसार पोखराको गण्डकी अस्पतालमा ११ महिला, २० पुरुष, तीन बालक र सात बालिकाको शव पठाइएको छ।

त्यस्तै, पाल्पा पठाइएका आठ शवमध्ये लुम्बिनी मेडिकल कलेज प्रभासमा एक महिला र एक बालिकाको शव राखिएको छ। प्रदेश अस्पताल पाल्पामा दुई महिला, एक पुरुष र एक बालकको शव पठाइएको छ भने मिसन अस्पताल पाल्पामा दुई पुरुषको शव राखिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

जिल्लामा शव व्यवस्थापन गर्ने स्थानको अभाव भएपछि अन्य जिल्लाका अस्पतालसँग समेत समन्वय तथा संवाद भइरहेको उनले बताए।

“भोटेकोशी बाढीका कारण जिल्लामा धेरै शव फेला परेका छन्। नदीको बहाव घट्दै जाँदा थप शव भेटिन सक्ने सम्भावना छ,” उनले भने, “यति धेरै शव जिल्लामै व्यवस्थापन गर्न सक्ने अवस्था नभएपछि बाहिर पठाउन बाध्य भएका हौँ।”

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार आज बिहान १० बजेसम्म नारायणी नदीले बगाएर ल्याएका ११० वटा शव नवलपुरमा फेला परेका छन्।

प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितका अनुसार नदी किनारमा भेटिएका सबै शवको मुचुल्का उठाएर सुरक्षित स्थानमा राखिएको छ।

नारायणी नदीले छोएका जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा धेरै ६९ वटा शव गैँडाकोट नगरपालिका क्षेत्रमा फेला परेका छन्। त्यस्तै देवचुलीमा आठ, कावासोतीमा छ, मध्यविन्दुमा १८ र विनयी त्रिवेणीमा नौ वटा शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्लाबाहिर पठाइएका ४९ शवबाहेक अन्य शव जिल्लाका विभिन्न अस्पतालमा राखिएका छन्। मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा २१, नगर अस्पताल गैँडाकोटमा ३५ र नगर अस्पताल मध्यविन्दुमा पाँच वटा शव राखिएको छ।

गैँडाकोटमा फेला परेका ६९ शवमध्ये एउटा शवको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार आफन्तले दाबी गरेको उक्त शव मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा पठाइएको छ।

नवलपुरतर्फको नारायणी नदी किनारमा थप शवको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

उनका अनुसार नदी किनारमा खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *