काठमाडौँ । प्राकृतिक विपत्तिका कारण सडक यातायात प्रभावित भएको अवस्थामा हवाई भाडा नबढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि यात्रुको बाध्यता देखाउँदै केही वायुसेवा कम्पनीले हवाई टिकटको मूल्य बढाएको गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
क्यानको हवाई यातायात विभागले बुधबार आन्तरिक उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीलाई पत्राचार गर्दै विपद्को समयमा सर्वसाधारणको आवागमन सहज बनाउन हाल कायम भाडादर नबढाई टिकट बिक्री गर्न निर्देशन दिएको छ। विभागका उपप्रबन्धक सन्तोष अधिकारीले जारी गरेको पत्रमा सरकारले स्वीकृत गरेको अधिकतम हवाई भाडादरभन्दा बढी शुल्क नलिन र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै हाल कायम भाडादरमै यात्रुलाई टिकट उपलब्ध गराउन आग्रह गरिएको छ।
बुधबार बिहान तिब्बततर्फबाट रसुवागढी हुँदै आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि पृथ्वी राजमार्गलगायत प्रमुख सडकमार्ग प्रभावित भएका छन्। सडक यातायात अवरुद्ध हुँदा काठमाडौं तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने यात्रुहरू हवाई सेवामा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ।
यही अवस्थाको फाइदा उठाउँदै केही कम्पनीले सस्तो दरका टिकट ‘होल्ड’ गरी यात्रुसँग सरकारले तोकेको अधिकतम भाडा असुल्ने गरेको गुनासो यात्रुहरूले गरेका थिए। त्यसपछि प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई यात्रुको बाध्यतालाई व्यावसायिक लाभको माध्यम नबनाउन सचेत गराएको हो।
प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँगै बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई निर्देशन पठाएको छ। प्राधिकरणले विपद्को समयमा हवाई सेवा सर्वसाधारणको सहज आवागमनको माध्यम बन्नुपर्ने भन्दै स्वीकृत भाडादरको पालना गर्न र यात्रुको हितलाई प्राथमिकतामा राख्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।




